काठमाडौं । नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक तथा राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा अर्काे भ्रष्टाचार मुद्दा दायर गरेको छ । ठेकदार कम्पनीसँग मिलेमतोमा सामान आपूर्ति गरी घुस लिएको अभियोगमा आयोगले बिहीबार बिशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।
१२ करोड ४२ लाख ८० हजार रुपैयाँको सामान खरिद गर्दा उनले तीन करोड आठ लाख ५० हजार चार सय रुपैयाँ घुस लिएको अख्तियारको दाबी छ । घुस दिने आपूर्तिकर्ता कम्पनी एक्टर्स कम्प्युटर्स नेपाल प्रालिका सञ्चालक दिपक आनन्दलाई पनि अख्तियारले प्रतिवादी बनाएको छ । पौडेल राष्ट्रिय सूचना प्रविधि केन्द्रको कार्यकारी निर्देशन रहँदा सो कम्पनीसँग सेक्युरिटी अप्लायन्सेस तथा नेटवर्क इक्विपमेन्टसम्बन्धि सामान खरिद गरेका थिए ।
सामाद खरिद गर्दा आपुर्तीकर्ता कम्पनीसँग मिलेर स्पेशिफिकेसन बनाएको र जसमा एक्टर्स कम्प्युटर्स नेपाल प्रालि मात्र छनोट भएको थियो । उसलाई मात्र मिल्ने गरी स्पेशिफिकेसन बनाएकाले लागत अनुमान भन्दा एक प्रतिशत मात्र कममा बोलपत्र हालेर सो ठेक्का दिइएको थियो । स्पेशिफिकेसन बनाउनेदेखि भुक्तानी दिनेसम्मका काममा पौडेलको प्रत्यक्ष मिलेमतो देखिएको आयोगले जनाएको छ । घुस रकम अमेरिका र भारतको बैंक खातामा लिएको अभियोगपत्रमा उल्लेख छ । हाल डिल्लीबजार कारागारमा रहेका पौडेलविरुद्ध यसअघि पनि भ्रष्टाचारका मुद्दा दायर भएका थिए । केही मुद्दामा उनी दोषी समेत ठहर भइसकेका छन् ।
https://drive.google.com/file/d/1zujsbOLfM_IPkeEKRi8Ju5dsYseubeMB/preview



