बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकारी ‘शी लिड्स आइकन अवार्ड’ बाट सम्मानित भएकी छिन् ।देशभरका महिला जनप्रतिनिधिमध्येबाट उनले सो अवार्ड प्राप्त गरेकी हुन् ।
उक्त अवार्डका लागि देशभरका स्थानीय तहबाट एक सय ४० जनाको आवेदन परेको थियो । जसमध्ये निर्णायक मण्डलले २७ प्रेरणादायी महिला जनप्रतिनिधि छनोट गरी उत्कृष्ट तीन जनालाई ‘आइकन’ घोषणा गरेको हो ।
शी लिड्स आइकन अवार्डबाट बडिगाड गाउँपालिका अध्यक्ष थापासहित गौमुल गाउँपालिका बाजुराकी उपाध्यक्ष सीता थापा र सिगास गाउँपालिका बैतडीकी उपाध्यक्ष धाना धामी पनि सम्मानित भएका छन् ।
शुक्रवार काठमाडौंमा एक कार्यक्रमकाबीच प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त अवार्ड प्रदान गरे ।
‘महिला स्वास्थ्य, महिला उद्यमशीलता, नीति र न्याय, सशक्तीकरण र जवाफदेहिता’ जस्ता क्षेत्रमा उत्कृष्ट योगदान पुर्याएको भन्दै कल्प इम्पावर वेमेन नेपालले अवार्डसहित सम्मान गरेको हो ।
महिला सशक्तीकरण, उद्यमशीलता, र नेतृत्वलाई प्रवद्र्धन गर्न प्रदान गरिने अवार्डले स्थानीय तहका जनप्रतिनिधिको भूमिका उजागर गर्दै देशभरका महिलालाई प्रेरणा दिने अपेक्षा गरिएको छ ।



