काठमाडौं महानगरपालिकाभित्र रहेका रुखमा झिलिमिली बत्ती राख्न नपाइने भएको छ ।
कृत्रिम बत्तीका कारण रुख–बिरुवा सुकेको, करेन्ट लाग्ने डर भएको, चराचुरुंगीको वासस्थान नै लोप हुने अवस्था आएपछि महानगरपालिकाले झिलिमिली देखाउने नाममा रुख–बिरुवामा बालिने बत्तीमा रोक लगाएको हो ।
महानगरभित्रका कतिपय सार्वजनिक जग्गा, व्यक्तिगत जग्गा, विभिन्न पार्क, चौतारामा रहेको होटेल, रेस्टुरा, क्लब, संघसंस्थाहरूले सजावटको नाममा झिलिमिली बत्ती टाँगिरहेका छन् । अब भने महानगरपालिकाभित्र टाँगिएका ती बत्ती निकाल्नुपर्नेछ । आइतबार महानगरपालिकाका मेयर बालेन्द्र साहको अध्यक्षतामा बसेको महानगरपालिकाको ३७औँ कार्यपालिका बैठकले ‘लहरेबत्ती व्यवस्थापन कार्यविधि’, २०८१ स्वीकृत गर्दै सो निर्णय गरेको हो ।
महानगरको कार्यविधिअनुसार क्षणिक अर्थात् तीन दिनसम्मका लागि यस्ता बत्ती राख्न दिए पनि नियमित राख्न पाइँदैन । लहरे बत्ती व्यवस्थापन कार्यविधिले सजावट वा सुन्दरताका लागि कुनै पनि बोट–बिरुवामा लहरेबत्ती राख्न नपाउने व्यवस्था गरेकोले त्यसो गर्नेलाई कारबाही हुने महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । उनका अनुसार व्यावसायिक तथा सार्वजनिक स्थानमा त्यस्ता बत्ती राख्न पाइनेछैन । यदि क्षणिक समयका लागि राख्नु परे वातावरण व्यवस्थापन विभागबाट अनुमति लिनुपर्नेछ । अन्यथा, महानगरको नगरप्रहरीले अनुगमन गरेर जरिवानासहित बत्ती जफत गर्नेछ ।



