एनपिएल : चितवनको तेस्रो जित, सुदूरपश्चिमको पहिलो हार

एनपिएल : चितवनको तेस्रो जित, सुदूरपश्चिमको पहिलो हार

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

अफगानिस्तानका हसन इशाखिलको अर्धशतक मद्दतमा चितवन राइनोजले एनपिएलको १५औँ खेलमा तेस्रो जित निकालेको छ । लगातार तेस्रो खेलमा जित निकालेको सुदूरपश्चिम चितवनसँग ३३ रनले पराजित भएको हो । 

आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय ६५ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङ गरेकाे सुदूरपश्चिमले  १८.२ ओभरमा अलआउट हुँदा मात्र १३१ रन बनाउन सक्यो ।

चार खेलबाट सुदूरपश्चिमको ६ अंक छ। चितवनको पनि चार खेलबाट ६ अंक रह्यो। दुवै टोलीले समान एक खेल हारेका छन्।

सुदूरपश्चिमका लागि इशान पाण्डेले सर्वाधिक ३५ र सैफ जैवले १८ रन बनाए। चितवनका लागि रिजन ढकाल, कुशल मल्ल, जान निकोल इटन र अमार रौटेलाले समान दुई विकेट लिए।

यसअघि चितवनका लागि अफगानी १८ वर्षीय दायाँहाते ब्याटर इशाखिलले ५२ बलमा ६ चौका र तीन छक्कासहित सर्वाधिक ६५ रन बनाए। यसबाहेक रवि बोपाराले १८ बलमा समान दुई चौका र छक्कासहित ३६ रन बनाए।

सुदूरपश्चिमका स्कट कुगुलेइनले चार ओभरमा २० रन खर्चिँदै दुई विकेट लिए। ब्रान्डम म्याकमुलेन, दीपेन्द्रसिंह ऐरी र सैफ जैवले समान एक विकेट लिए।

यसअघि आजै भएको पहिलो खेलमा लुम्बिनी लायन्स जनकपुर बोल्ट्ससँग एक रनले पराजित भएको थियो। जनकपुरले लगातार चार जित निकाल्दा लुम्बिनी लगातार चौथो खेलमा पनि पराजित भएको हो।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय