सामाजिक सुरक्षा कोष मार्फत ८५ हजारले लिए स्वास्थ्य सेवा

सामाजिक सुरक्षा कोष मार्फत ८५ हजारले लिए स्वास्थ्य सेवा

साहसी खबर
3 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा योगदान गरेका करिब ८५ हजार योगदानकर्ताले कोषको योजनामा आबद्ध ९० वटा अस्पतालबाट स्वास्थ्य सेवा लिएका छन् ।

कोषका अनुसार औपचारिक, अनौपचारिक र स्वरोजगारतर्फका पाँच लाख ४६ हजार ७६४ योगदानकर्तामध्ये ८४ हजार ९०२ जना योगदानकर्ताले ती अस्पतालबाट स्वास्थ्य सेवा लिएका हुन् ।

कोषका अनुसार स्वास्थ्य सेवा लिएबापत एक अर्ब ९२ करोड ६१ लाख रुपियाँ दाबी गरेकोमा एक अर्ब ५० करोड ३८ लाख रुपियाँ भुक्तानी भएको छ । कोषले तोकेका अस्पतालमा उपचार गराउँदा मात्रै योगदानकर्ताको उपचारबापतको खर्च बेहोर्ने व्यवस्था छ । कोषले गत फागुन १ गतेदेखि कोषसँग सम्झौता गरेका अस्पतालमा मात्रै योगदानकर्ताले औषधोपचारबापतको रकम दाबी गर्न पाउने व्यवस्था लागु गरेको हो । यसअघि भने सामाजिक सुरक्षा कोषमा योगदान गरेका योगदानकर्ताले जुनसुकै अस्पतालमा उपचार गराउँदाको खर्च कोषले उपलब्ध गराउँदै आएको थियो ।

कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले कोषसँग सम्झौता गरेका अस्पतालबाट मात्रै योगदानकर्ताले स्वास्थ्य उपचारबापतको रकम दाबी गर्ने गरेको जानकारी दिए । तोकेका अस्पतालमध्ये सबैभन्दा धेरै बागमती प्रदेशमा ३६ वटा छन् भने सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा दुई वटा छन् । कर्णाली प्रदेशमा त अहिलेसम्म अस्पताल तोकिएको छैन ।

योगदानकर्ताले सामाजिक सुरक्षा परिचयपत्र देखाएर अस्पतालमा उपचार गराउँदाको खर्च सामाजिक सुरक्षा कोषले सिधै अस्पताललाई तिरिदिने प्रावधान छ । कोषमा कम्तीमा तीन महिना नियमित योगदान गरेपछि औषधोपचार सुविधा पाइन्छ । यसअन्तर्गत वार्षिक एक लाख रुपियाँसम्मको औषधोपचार सुविधा व्यवस्था छ ।

कम्तीमा तीन महिना नियमित योगदान गरेका योगदानकर्ता र निजको दम्पतीलाई ओपिडी (अस्पताल भर्ना नभई) सेवाको वार्षिक २० हजारसम्मको शोधभर्ना कोषले गर्छ । त्यस्तै योगदानकर्ता र निजको दम्पतीलाई आइपिडी सेवा ९अस्पतालमा भर्ना भएर उपचार गराउँदा० वार्षिक ८० हजार रुपियाँसम्मको शोधभर्ना कोषले उपलब्ध गराउँछ ।

दुई वर्ष योगदान गरेका योगदानकर्तालाई घातक रोग लागेमा १० लाख रुपियाँसम्म कोषले उपलब्ध गराउँछ । कोषले विभिन्न योजनाको दाबी भुक्तानीका लागि समयसीमा तोकेको छ । जस अनुसार अस्पताल भर्ना नभई गरिने ९ओपिडी० उपचारको ९० दिनभित्र, भर्ना भई उपचार गराएकाले डिस्चार्ज भएको ९० दिनभित्र र दुर्घटनाका हकमा उपचार गराएको वा डिस्चार्ज भएको ९० दिनभित्र दाबी गरिसक्नुपर्ने छ ।

मातृत्व हेरचाह भत्ता शिशु जन्मेको ९० दिनभित्र दाबी गर्नुपर्ने छ भने मातृत्व बिदा भत्ता र बिरामी बिदा भत्ता बिरामी भएको अथवा डिस्चार्ज भएको १२० दिनभित्र दाबी गरिसक्नुपर्ने उल्लेख छ । सरकारले २०७६ साउन १ गतेदखि सुरु गरेको सामाजिक सुरक्षा कोषमा १९ हजार ८२९ रोजगारदाता प्रतिष्ठान आबद्ध भएका छन् । ती प्रतिष्ठानमा काम गर्ने पाँच लाख ४६ हजार ७६४ श्रमिक तथा कर्मचारी सूचीकृत छन् । गोरखापत्र दैनिकमा समाचार छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय