अब सुविधाको खोजीमा सहर पस्नुपर्ने अवस्था छैन : मुख्यमन्त्री आचार्य

अब सुविधाको खोजीमा सहर पस्नुपर्ने अवस्था छैन : मुख्यमन्त्री आचार्य

साहसी खबर
2 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शिक्षा, स्वास्थ्य, सडक पूर्वाधारलगायत विकास पूर्वाधार गाउँ केन्द्रित भइरहेकाले सुविधाका लागि सहर पसेकाहरूलाई ‘गाउँ फर्क’ अभियान चलाउनुपर्ने बताएका छन् । 

आज मालारानी गाउँपालिका-२ मा रहेको वीरेन्द्र माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव उद्घाटन गर्दै उनले तीन तहका सरकारले गाउँ केन्द्रित विकासलाई प्राथमिकतामा राखेर सुविधा पुर्‍याइरहेका सन्दर्भमा अब यस्तो अभियान जरुरी रहेको बताएका हुन् । ‘हामीले गाउँमा विकास र सुविधा पुर्‍यायौँ । त्यही सुविधाका लागि सहर पसेकाहरू गाउँ फर्कन आवश्यक छ, मुख्यमन्त्री आचार्यले भने, अब राम्रो स्कुलमा पढाउनकै लागि घरमा ताला लगाएर सहर पस्नुपर्ने अवस्था छैन । रोजगारी सिर्जनाका लागि पनि अब गाउँ फर्किएर उद्यम गर्न सकिन्छ । त्यो अवसर विकास भएको छ ।

उनले राजनीतिक दल, जनप्रतिनिधि, समाजसेवी तथा समाजका अगुवाले यस अभियानलाई अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याए । ‘राजनीतिक दलका कार्यकर्ता पनि अब उद्यमशील बन्नुपर्छ । व्यावसायिक बनेमा स्वदेशमै राम्रो कमाई गर्न सकिन्छ भन्ने सन्देश फैलाउन पनि उत्पादनसँग जोडिनै पर्छ’, मुख्यमन्त्री आचार्यको भनाइ थियो ।

यसैगरी उनले सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर गुणस्तर सुधार्न सबै पक्ष गम्भीर बन्नुपर्ने बताए । ‘गुणस्तरीय शिक्षा र नतिजा सुधार्न एउटा पक्षले मात्रै ख्याल गरेर हुँदैन । यसमा शिक्षक, अभिभावक, विद्यार्थी, विद्यालय व्यवस्थापन पक्ष, जनप्रतिनिधि सबै साझा रूपमा अघि बढ्न सक्नुपर्छ । गत वर्षको एसइई नजिता सन्तोषजनक भएन । यसपालिको नजिता सुधार गर्न सबै चिन्तित र संवेदनशील बन्नै पर्छ’, मुख्यमन्त्री आचार्यले भने ।

कार्यक्रममा विद्यालयको शैक्षिक विकासमा योगदान पुर्‍याउने विभिन्न व्यक्तिलाई सम्मानसमेत गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुराम आचार्यले जानकारी दिए ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय