एनपिएल : नरेन साउदको उत्कृष्ट बलिङसँगै सुदूरपश्चिमको दोस्रो जित

एनपिएल : नरेन साउदको उत्कृष्ट बलिङसँगै सुदूरपश्चिमको दोस्रो जित

साहसी खबर
3 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

नरेन साउदकोको उत्कृष्ट बलिङमा काठमाडौं गुर्खाजलाई ७३ रनले  हराउँदै सुदूरपश्चिम रोयल्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग एनपिएलमा लगातार दोस्रो जित निकालेको छ । 

जितको लागि १६८ रनको लक्ष्य पछ्याएको काठमाडौं १५ ओभर ५ बलमा पूरा विकेट गुमाउँदै ९४ रनमा समेटियो । मात्र ४९ रन जोड्दा ४ विकेट गुमाइसकेको काठमाडौंले शुरूवात राम्रो गर्न सकेन । माइकल लेभिट ५ रनमा, शंकर राना ३ रनमा र भीम सार्की एवं जेराड इरामस १०÷१० रनमा आउट भए ।

लगत्तै सुमित महर्जन पनि १४ रन बनाएर पाँचौ विकेटको रूपमा पेबिलियन फर्कंदा काठमाडौं थप दबाबमा आयो । पाँच विकेट गुमाउँदा ७४ रन बनाएको काठमाडौं यसपछि पनि सम्हालिन सकेन । यसपछि मात्र १२ रन जोड्ने क्रममा काठमाडौंले ५ विकेट गुमायो । स्टेफन इस्किनाजी ३७ रन र रसिद खान पनि २ रनमा आउट हुँदा काठमाडौं हार नजिक पुगेको थियो । लगतै प्रतिक श्रेष्ठ ८, हिटर करण केसी १ रनमा र साहब अलाम १ रनमा आउट हुँदा काठमाडौं ९४ रनमा समेटियो । बलिङमा नरेन साउद नायक बने । उनले ३ ओभर ५ बल बलिङ गर्दै मात्र १९ रन खर्चेर ५ विकेट लिए । अविनाश बोहराले २ विकेट हात पारे । 

यसअघि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ६ विकेट गुमाउँदै १६७ रन बनायो । सुदूरले ओपनर सेफ जेबलाई ११ रनमा गुमायो । पहिलो विकेट गुमाउँदा सुदूरपश्चिमले १७ रन बनाएको थियो । यसपछि दोस्रो विकेटको लागि विनोद भण्डारी र ब्राण्डन मकमलेनले ८६ रनको साझेदारी गर्दै इनिङ्स उकासे । यो क्रममा ब्रान्डनले अर्धशतक प्रहार गरे । ३१ बलको सामना गर्दै ३ चौका र ४ छक्कासहित उनले ५० रन पूरा गरे । ५३ रन बनाएर उनी आउट भए ।

लगतै ३५ रन बनाएका विनोद भण्डारी तेस्रो विकेटको रूपमा पेबिलियन फर्किए । लगत्तै रोहन मुस्तफा ४ रनमा र आरिफ शेख ३ रनमा आउट भए । ५ विकेट गुमाउँदा सुदूरपश्चिमले १३३ रन बनाएको थियो । यसपछि दीपेन्द्र सिंह ऐरीले २५ बल खेल्दै ३ चौका र २ छक्कासहित ४३ रनको पारी खेले । उनी करणको बलमा लेभिटद्वारा क्याच आउट भए । यसपछि सुदूरपश्चिमले बाँकी ८ बलमा मात्र ५ रन बनायो । बलिङमा रसिद खानले २ तथा करण केसी, साहब अलाम र जेराड इरासमसले समान १÷१ विकेट लिए ।

यो जितसँगै सुदूरपश्चिमले ४ अंक बनाएको छ । पहिलो खेलमा सुदूरपश्चिमले विराटनगरलाई हराएको थियो । तेस्रो खेल खेलेको काठमाडौंको यो दोस्रो हार हो । 

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय