काठमाडौं । बागलुङको बडिगाड गाउँपालिका १०, आरुपाटामा गएको पहिरोमा परी घाइते भएका तीनजनालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उपचारका लागि काठमाडौं लगिएको छ।
गम्भीर घाइते १९ वर्षीया रिमा पुन,२१ वर्षीया सीता थापा र ४६ वर्षकी संगीता बुढालाई बिहान साढे ९ बजेतिर नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइएको हो ।
बाँकी घाइतेहरूलाई भने बुर्तिबाङको अस्पताल लैजाँदै गरिएको र केही अहिलेसम्म पनि बाटोमै भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिए ।
उनका अनुसार बर्खाका कारण बाटो बिग्रिएकाले मूलबाटोसम्म घाइतेहरूलाई बोकेरै लगिएको छ भने त्यहाँबाट बल्ल गाडी चढाएर उपचारका लागि अस्पताल पठाइएको हो।
उनका अनुसार पहिरोमा हराएका ४ जनाको पनि खोजी जारी छ। नेपाली सेना, नेपाल प्रहरी तथा स्थानीय अहिले पनि उद्धार जुटिरहेका छन्।
मंगलबार आएको पहिरोले स्थानीय जोगबहादुर बुढाको घर पुरिँदा ८ जनाको मृत्यु भएको छ । घटनामा परी ९ जना घाइते छन् ।
मंगलबार बिहान बडिगाड ९ को बलघाँसमा खसेको पहिरोमा परी १५ वर्षीय विधान परियार र २४ वर्षीया गंगा बस्नेतको मृत्यु भएको थियो।
बडिगाड गाउँपालिका-१० आरुपाटामा मंगलबार खसेको पहिरोले घर पुरिँदा बेपत्ता भएकामध्ये एक जनाकाे शव फेला परेकाे छ । पहिरोमा बेपत्ता ३ वर्षिय आरुष थापाको शव फेला परेकाे हाे ।
बेपत्ता ७ वर्षकी मधु बुढा, १० वर्षका मनोज बुढा र ११ वर्षका सुमन थापाको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक विजय यादवले जानकारी दिए ।





