काठमाडौं । राजीनामा दिएर देश छाडेकी शेख हसिना नेतृत्वको पार्टी अवामी लिगका एक जना जिल्ला नेता सञ्चालक रहेको होटलमा आगजनी हुँदा २४ जनाको मृत्यु भएको छ ।
बंगलादेशको दैनिक पत्रिका ढाका ट्रिब्यूनका अनुसार, अज्ञात व्यक्तिले अवामी लिग पार्टीका जेसोर जिल्ला महासचिव सहिन चकलादारको होटलमा आगजानी गरेका थिए ।
त्यसक्रममा होटलमा भएका अधिकांश मानिसहरु धुँवामा निसास्सिएर मारिएको समाचारमा भनिएको छ । कम्तीमा २५ देखि ३० जनाको उद्दार गरिएको समाचारमा उल्लेख गरिएको छ ।
होटलमा सोमबार ४ बजेदेखि आगलागी भएको थियो भने ८ बजे नियन्त्रणमा आएको थियो । ज्यान गुमाउनेमध्ये एक जना इन्डोनेसियाका नागरिक भएको बंगाली भाषाको अखबार प्रथोम आलोले लेखेको छ ।
जेसोर अस्पतालका डा. प्रार्थो प्रतिम चक्रवर्तीले आगजनीका कारण घाइते १५० जनाको उपचार भइरहेको बताएका छन् । आरक्षणको विरोधमा भएको आन्दोलनले हिंसात्मक रुप लिँदा सोमबार प्रधानमन्त्री शेख हसिना राजीनामा दिन बाध्य भएकी थिइन् ।
उनी राजीनामा दिएर सैनिक हेलिकप्टरमा भारततर्फ गएकी छन् । लगत्तै सत्तारुढ पार्टी अवामी लिगका नेताका घर, होटल लगायतमा भिडले आक्रमण गरेको थियो ।





