दुई दिन देखि सेवाग्राहीको काम ठप्प पारी मदिरामा लठ्ठ बुर्तिबाङका मालपोत प्रमुख

दुई दिन देखि सेवाग्राहीको काम ठप्प पारी मदिरामा लठ्ठ बुर्तिबाङका मालपोत प्रमुख

साहसी खबर
2 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

मालपोत कार्यालय बुर्तिबाङका प्रमुख (मातपोत अधिकृत) शोभाकान्त पौडेल कार्यालय समयमा मदिरा खाएर लठ्ठ परेको अवस्थामा भेटिएका छन् । कार्यालयको सेवा प्रवाहलाई ठप्प पारी मदिरा सेवन गरेर मातिएको अवस्थामा सोमबार भेटिएका हुन् ।

‘दुई दिनदेखि सेवा प्रवाह ठप्प भएको थाहा पाएपछि हामी त्यहाँ पुगेका थियौँ,’ पत्रकार छविलाल पाण्डेले  भने, ‘कार्यालयमा ५० जना सेवा ग्राहीलाई कुराएर हाकिम साव ! मदिरामा लठ्ठ हुनुहुन्थ्यो ।’ मदिराले मातिएका कार्यालय प्रमुखको कोठामा पुगेका पत्रकार र सेवाग्राहीलाई उनले ‘म यहाँ धेरै बस्दिन तपाईंले मिडियामा जति पठाएपनि मेराे केही ने…’ भन्दै अपशब्द प्रयोग गरेका थिए ।

एकदिनमा हुने काम हाकिम कै कारण दुई दिन लागेको तमानखोला गाउँपालिका-३ का रन्तबहादुर बुढाथोकीले गुनासाे गरेका छन्  । ‘हजारौं खर्च गरेर गाउँबाट बुर्तिबाङ आउनुपर्छ,’ उनले भने, ‘हाकिम आएर काम सकिएला भनेर आइतबार दिनभर कुर्याैँ, आउनु भएन आज पनि अबेरसम्म आउनु भएन, रक्सी खाएर कोठामा सुत्नु भएको रहेछ यस्ता कर्मचारीले गर्दा हामी जस्ता सोझा जनताले दुःख पायाैं ।’

यता, मदिरामा मातिएका मातपोत अधिकृत पौडेललाई प्रहरीले पक्राउ गरेको छ । मदिरा खाएर मातिएका मालपोत अधिकृत पौडेललाई इलाका प्रहरी कार्यालय बुर्तिबाङले साेमबार साँझ ५ बजे नै नियन्त्रणमा लिइएको जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख (सिडिओ) खगेन्द्रप्रसाद रिजालले पुष्टि गरे ।

‘मदिरा खाएर मातिएको अवस्थामा भेटिएको सूचना प्राप्त हुनसाथ हामीले प्रहरीलाई भनेर ५ बजे नै नियन्त्रणमा लिइसकेका छौं,’ उनले न्यूज खरीसँग भने, ‘मेडिकल चेक गरेर भोलि जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन भनेकाे छु ।’

कार्यालय समयमा मदिरा सेवन गरी सेवाग्राहीको काम ठप्प पार्ने पौडेललाई कानुनी कारबाही गरिने रिजालले बताए ।  कानुनी कारबाही के हुन्छ भन्ने प्रश्नमा उनले भने -‘विभागबाट स्पष्टिकरण सोध्ने काम होला ।’

भिडियाे हेर्नुहाेस् :

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय