बागलुङ: बागलुङको जैमिनी नगरपालिका वडा नं. १०, राङखानीमा रहेको आदानप्रदान कृषि सहकारीले सामूहिक धानखेती थालेको छ। सहकारीले बाँझो जमिन अधिँया र बन्दगी लिएर धानखेती थालेको हो।
सहकारीले राङखानी, वडा नं. ४ सर्कुवा र वडा नं. ९ पैञ्युथन्थापमा पर्ने रुम्टा लप्सेफाँटमा रहेको बाँझो खेत अधिँया र बन्दगीमा लिएको छ। समुहमा स्थानीय जातको धानखेतीका लागि ५२ रोपनी जमिनसम्झौता गरेर सहकारीले लिएको सचिव मित्र थापाले बताए।
जैमिनी नगरपालिकाको ‘नगरप्रमुख कृषि पल्टन परियोजना’ले प्रोत्साहन गरेपछि किसानहरु सामूहिक उत्पादनमा लागेका हुन् । ‘हामीले अहिले बाँझो जमिन जोत्दैछौं, असारको दोस्रो सातासम्म खेती लगाउन सुरु हुन्छ’ थापाले भने ‘अहिलेको लागि ६ जना समुहमा आबद्ध किसानको सहभागितामा धान उत्पादन सुरु हुन्छ ।’ ठेउलेखोला छेउछाउमा पर्ने उर्वर जमिन बाँझिँदै गएकाले सहकारीले सामुहिक उत्पादनका लागि प्रयास थालेको हो।

पोखरेली जेठो बुढो जातको धान लगाउने किसानहरुको तयारी छ । ‘एक वर्षमा १ सय ५० मुरी धान फलाउने लक्ष हो’ सहकारीका अध्यक्ष नन्दलाल पाध्याले भने ‘एकातर्फ किसानले व्यवसायीक उत्पादन गर्ने अर्कोतर्फ बाँझो जमिनको सदुपयोग हुने भएकाले सामूहिक खेती थालेका हौं।’ यहाँको जमिनमा स्थानीय जातको धान राम्रो उत्पादन हुने कृषि प्राविधिकको सुझाव छ । सहकारीमा आबद्ध किसानका लागि प्रविधि, उपकरण र बिउ मलको समेत प्रबन्ध मिलाईएको सहकारीले जनाएको छ ।
‘नगरपालिकाको कृषि पल्टन परियोजनाले तीन वर्ष निरन्तर अनुदान दिने भनेको छ, अहिलेलाई १ लाख ५० हजार रुपैयाँको प्रस्ताव हाम्रो छ’ सचिव थापा भन्छन् ‘उपकरण, मल बिउको जोहो गर्न अनुदानले सहयोग गर्दा किसानले राम्रो उत्पादन गर्न सक्छन्।’ बाँझो जमिनलाई जेठको दोस्रो सातादेखि नै मिनीटेलरको सहायताले जोतेर तयार गरिएको छ। समूहमा नै बिउँ उमार्ने काम भैरहेको अध्यक्ष उपाध्यायले बताए।
जैमिनी नगरले किसानलाई व्यवसायीक बनाउन ‘नगरप्रमुख कृषि पल्टन परियोजना’ र ‘नगरप्रमुख पशु पल्टन परियोजना’ चालु आर्थिक वर्षबाट सुरु गरेको छ। यो परियोजनाले स्थानीय जातको उत्पादन र किसानलाई व्यवसायमुखी बनाउन प्रोत्साहन गर्ने नगरप्रमुख इन्द्रराज पौडेल बताउँछन्। बाँझो जमिनको सदुपयोग गर्नेलाई विशेष प्रोत्साहन गर्ने नगरको कार्यक्रम पनि छ।
ढोरपाटन न्यूजबाट साभार




