खोप केन्द्रमै कोरोनाको जोखिम !

खोप केन्द्रमै कोरोनाको जोखिम !

साहसी खबर
4 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

बागलुङ : बागलुङ नगरपालिका-१ रामरेखा स्थित एक विद्यालयकी शिक्षक रमा पौडेल । बिहान ७ बजेबाट कोरोना विरुद्धको खोप लगाउन बागलुङ नगरपालिका-२ को कार्यालय परिसरमा आईन् ।

उनी त्यहाँ खोप लगाउनेहरुको लाईन सुरु भैसकेको थियो । दिनको १ बज्दासम्म पनि उनको खोप लगाउने पालो आएन । कोरोना खोप लगाउन लाईन बसेकी उनलाई खोप लगाउने आससंगै त्यही भिडबाट कोरोना पो सर्ने हो की भन्ने त्रास ज्यादा थियो । ‘खोप लगाउन भनेर आएको ७ बजे हो एक बजेसम्म पनि पालो आएको छैन,’ उनले भनिन्,‘यस्तो भिडभाड छ, यहीबाट कतै कोरोना पो सर्ने हो कि भन्ने चिन्ता पो लागेको छ ।’

दिनको एक बजेसम्म आफुले खोप लगाउनका लागि चाहिने कार्ड समेत नपाएको उनको गुनासो थियो । बागलुङ नगरपालिका खोप केन्द्रबाटै कोरोना संक्रमणको जोखिम बढ्न सक्ने कुरामा सचेत नभएको खोप सेवा लिन गएका शिक्षकहरुले बताएका छन् । खोप केन्द्रको व्यवस्थापनमा कमी देखिएको शिक्षकहरुको भनाइ थियो ।

‘यहाँ भिडभाड बढी भयो सामाजिक दुरी कायम गर्नुछ भनेर भन्ने पनि कोही छैनन् त्यस्तै यहाँ सामाजिक दुरी मेरो लागि हो भनेर आफै सामाजिक दुरी कायम गर्ने पनि कोही देखिएनन्,’ शिक्षक भरत पुरी भन्छन्,‘ धन्न पानी परेको छैन र सबैलाई अलिकति भए पनि सहज भएको छ । यहाँको अवस्था लाईनले गर्दा सम्पूर्ण सभ्य शिक्षकको अपमान गरिएको देखिन्छ ।’

प्रशासनले शिक्षकलाई धपाउनको लागि नाम टिपेको छ प्रशासन पनि खोप केन्द्रको व्यवस्थापनका लागि चुकेको उनको भनाइ थियो । खोप केन्द्र व्यवस्थित हुनुपर्ने स्थानीयको माग रहेको छ ।

खोप केन्द्रमै खानेपानी नहुन, शौचालय नहुनु र लामो समय लाईनमा बस्नु र लाईनमा बसे पनि खोप लगाउन नपाउनु दुर्भाग्यपूर्ण रहेको छ । सरकारले अत्यावश्यक सेवामा कार्यरत व्यवसायीले पनि खोप लगाउन पाउने सूचना जारी गरिसकेको छ । तर, अत्यावयक सेवामा रहेको व्यवसायीलाई पनि विभिन्न बहाना बनाएर खोप केन्द्रमा नाम दर्ता गर्न बसेका कर्मचारीले दुःख दिन खोजेको स्थानीयले आरोप लगाएका छन् ।

नीति भन्दा बाहिर रहेर श्रीमान्ले लगाए श्रीमतीले खोप लगाउन नपाउने, श्रीमतीले खोप लगाए श्रीमान्ले लगाउन नपाउने भनेर नाम दर्ता गर्न बसेको कर्मचारीले फिर्ता पठाएको स्थानीय राम पौडेलले गुनासो गरेका छन् ।

‘खोप कार्ड बनाउनको लागि आएको थिए । हामी नेपाल सरकारले अत्यावश्यक सेवा भनेर घोषणा गरेको व्यवसायमा आवद्ध छौं,’ उनले भने,‘त्यसका लागि खोप लगाउन श्रीमान् श्रीमतीको खोप कार्ड दर्ता गराउनको आएको थिएँ । यहाँका खोप कार्ड दर्ता गर्न बस्नु भएका कर्मचारीले एक जनाले मात्रै लगाउन पाउने भन्नुहुन्छ । कस्तो खाले नीति हो यो यहाँको नीति हो कि माथिबाट आएको नीति हो । साधारण व्यक्तिलाई अल्झाउने नीति बनाएको झैं लाग्यो ।’

केही व्यक्तिले खोप कार्ड विना नै खोप लगाएको आफुले देखेको उनले बताए । ‘कसैले बिना कार्ड खोप लगाएर गएको छ । कसैले लाइनमा नबसी खोप लगाएको छ । यस्तो पनि हुन्छ ? कसैलाई काखा कसैलाई पाखा ?,’ आक्रोशित हुँदै उनले भने । बागलुङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालका अनुसार नेपाल सरकारले प्रोपाईटरलाई मात्र खोप लगाउन मात्र पाईने व्यवस्था गरेकाले अत्यावश्यक सेवामा रहेका सबै व्यक्तिलाई खोप लगाउन नसकिएको बताए ।

खनालका अनुसार बागलुङमा कोरोनाको पछिल्लो अभियानमा ५ हजार भन्दा बढीलाई कोरोना विरुद्धको खोप लगाइएको छ । उनी भन्छन् ‘बागलुङमा पछिल्लो कोरोना विरुद्धको खोप अभियानमा ५ हजार भन्दा बढी व्यक्तिलाई खोप लगाइएको छ । बाहिरी जिल्लामा कोरोनाको खोप लगाउने बेलामा झडप समेत भएको समाचारहरु आए तर यहाँ सामान्य नै रहीकन कोरोना विरुद्धको खोप लगाइएको छ ।’ खोप संख्या कम र लक्षित समुह बढी भएका कारण व्यवस्थापनमा केही समस्या भएको उनको भनाइ छ । – बागलुङ पोस्ट

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय