गोविन्द कडेंल,बडिगाड अनलाइन गुल्मी । करङ्खोला मौरीभिर खानेपानी तथा सरसफाई योजना मुसिकोट नगरपालिका वडा नं. ७ वामीको भेला सम्पन्न भएको छ । भेलाले हाल सम्मको आय व्यय विवरण सार्वजनिक गरेको छ ।
मुसिकोट नगरपालिकाको एक घर एक धारा कार्यक्रम अन्तर्गत आ.व.२०७४/७५ मा गठित उक्त समितिले २०७५ चैत्रमा पहिलो पटक आयव्यय सार्वजनिक गरेको थियो । बिहिवार योजनाको दोस्रो पटकको आफ्नो आय व्यय सार्वजिक गरिएको हो ।हालसम्म योजनाबाट २ सय २८ घरधुरी लाभान्वित भएका छन् भने ३७ वटा धारा जडानको प्रक्रियमा रहेको समितिले जनाएको छ ।

कार्यक्रममा प्रस्तुत गरिएको आयव्यय अनुसार आयोजनाको हालसम्मको आम्दानी १,४३,४९,६३९.४६ र खर्च १,३३,९५,५५३ रहेको छ । त्यस्तै वचत रकम रू ९,५४,०८६ रहेको बताईएको छ । उक्त भेलामा खानेपानि योजनाको हाल सम्मको कार्य प्रगती विवरण पेश गरिएको थियो भने योजना सञ्चालनको क्रममा आइपरेका चुनौतीका वारेमा समेत छलफल गरिएको थियो ।
भेलामा मुसिकोट नगरपालिकाका नगरप्रमुख सोमनाथ सापकोटाकोटाले प्रमुख आथितिको रूपमा वोल्दै नगरपालिकाले जनताको साझेदारीमा सम्पन्न गर्ने गरी लिएको एक घर एक धारा कार्यक्रममा सक्रिय रूपमा सहभागी भएकोमा उपभोक्ताहरूलाइ धन्यवाद व्यक्त गर्नुका साथै जनताको सहभागितामा हुने कुनैपनि कार्यक्रममा नगरपालिकाको तर्फवाट वजेट अभाव हुन नदिने वताउनुभएको थियो ।
कार्यक्रममा विशेष अथितिको रूपमा मन्तव्य राख्दै मुसिकोट नगरपालिका आर्थिक विकास समिति संयोजक एवं वडा नं. ७ का वडा अध्यक्ष प्रकाश काफ्लेले चुनौतीकाबीच पनि योजनालाइ अन्तिम चरणसम्म ल्याइ पुर्याएकोमा समितिलाइ धन्यवाद व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा मुसिकोट नगरपालिका एक घर एक धारा समितिका संयोजक एवं वडा नं. ८ का वडा अध्यक्ष नारायण सापकोटा, खानेपानी तथा सरसफाई शाखाकी प्रमुख सिता भुसाललगायतले मन्तव्य राख्नुभएको थियो । समितिका उपाध्यक्ष भुवन के.सी.को स्वागत रहेको कार्यक्रम समितिका अध्यक्ष हरीहर सापकोटाको अध्यक्षता तथा सचिव सुन्दर प्रधानको सञ्चालनमा सम्पन्न भएको थियो ।




