बागलुङ । संक्रमण पुष्टि भएर पनि कुनै लक्षण नदेखिएका बागलुङको तमानखोला गाउँपालिकाका दुई युवा अस्पतालबाट डिस्चार्ज भएका छन् । गत जेठ १४ गते धौलागिरी अस्पतालको आईसोलेसनमा भर्ना भएका तमानखोलाका २१ बर्षिय दुई युवालाई १७ दिनपछि अस्पतालले डिस्चार्ज गरेको हो ।
सरकारको नयाँ निर्देशिकाअनुसार अस्पतालमा भर्ना भएको १४ दिनपछि कुनै लक्षण नदेखिए डिस्चार्ज गर्ने प्रावधान भएपनि उनीहरुलाई १७ दिनपछि डिस्चार्ज गरिएको अस्पतालका प्रमुख डा.शैलेन्द्र वि.क. पोखरेलले बताए । आईसोलेसनमा भर्ना भएपछि दोस्रो पटक गरिएको जाँचको क्रममा उनीहरुमा कोरोना पोजेटिभ नै देखिएको थियो । स्वास्थ्य निर्देशिकाको आधारमा तेस्रो पटक जाँचनै नगरी उनीहरुलाई घर पठाईएको हो ।
लक्षण नदेखिएका संक्रमितबाट अन्यमा सर्ने सम्भावना न्यून हुने भएकाले उनीहरुको परीक्षण नगरी घर पठाइएको डा.पोखरेलले बताए । उनीहरुलाई घरमा पनि १४ दिन क्वारेन्टाइनमा बस्न डाक्टरले आग्रह गरेका छन् । नेपाल सरकारले होम क्वारेन्टाइनको लागि बनाएका सबै नियमको पालना गर्ने सर्तसहित उनीहरु घर फर्किएको पोखरेल बताउँछन् । बागलुङमा उपचारपछि घर फर्किनेहरुको संख्या ८ पुगेको छ । यसअघि बागलुङ नगरपालिका, बडिगाड र तमानखोला गाउँपालिकाका २/२ जना घर फर्किसकेका छन् ।
धौलागिरी अस्पताल, धौलागिरी बहुमुखी क्याम्पस र बुर्तिबाङ स्वास्थ्य केन्द्रमा गरि थप ३२ जनाको अहिले उपचार भैरहेको छ । उनीहरुमा कुनै लक्षण नरहेकाले १४ दिनपछि घर पठाउने तयारी भैरहेको अस्पतालले जनाएको छ ।
साभार : ढोरपाटन न्यूज





