अछाम जिल्ला सदरमुकामसमेत रहेको मंगलसेन बजारको मुख्य सडक हिलाम्य भएपछि स्थानीयले अनौठो शैलीमा विरोध जनाएका छन् । स्थानीयले गोरु जोतेर खेतजस्तै बनाइएको सडकमा धान रोपी आफ्ना गुनासा पोखेका हुन् ।
सडक बजार क्षेत्रको प्रमुख आधार भए पनि वर्षौँदेखि निर्माण नहुँदा सास्ती भोग्नुपरेको स्थानीयको गुनासो छ । ‘मंगलसेन बजारदेखि जिल्लाका सबै विद्यालय र क्याम्पसमा जाने मुख्य बाटो यही हो । हरेक दिन ३–४ हजार विद्यार्थी यही बाटो भएर हिँड्छन् । केही त दिनहुँ लडेर घाइतेसमेत हुने गरेका छन्,’ एक स्थानीयले बताए, ‘सबै अभिभावकले आफ्ना बच्चालाई स्कुलसम्म पुर्याउने सुविधा छैन । अहिले खेतीपातीको चटारो पनि छ ।’
स्थानीयको भनाइमा, बजारको सडकबारे पटक–पटक माग गरे पनि कुनै सुनुवाइ नहुँदा बाध्य भएर यस्तो शैलीमा विरोध गरिएको हो । ‘बजारकै स्थानीय व्यापारी र युवाहरूको सहकार्यमा विरोध स्वरूप गोरु जोतियो र खेतबाट ल्याएको धानको बिउ सडकमा रोप्यौँ,’ उनले भने ।
वि.सं. २०६७ सालमा मंगलसेनको जीरो प्वाइन्टदेखि जिल्ला अस्पतालसम्मको सडक ६ मिटर चौडाइमा निर्माण गर्ने पहल भए पनि अझैसम्म सडक उस्तै अवस्थामा रहेको स्थानीयको आरोप छ । सडकको अवस्था सुध्रिने कुनै सुनिश्चितता नदेखिएपछि स्थानीय युवाहरू विरोधमा उत्रिएका हुन् ।
यस विषयमा मंगलसेन नगरपालिकाका नगर प्रमुख पदम बोहराले भने, ‘मंगलसेन बजारदेखि क्याम्पससम्मको सडक निर्माणको क्रममा छ । निर्माणको बेला सडक हिलो हुनु स्वाभाविक हो ।’ दुई पटक नगर प्रमुख भइसकेका बोहराले बारम्बार स्थानीयको असहयोगका कारण निर्माणमा अप्ठ्यारो परेको दाबी गरे । उनका अनुसार, ‘बर्खाका कारण काम रोकिएको हो, अब वर्षा कम भएसँगै निर्माण कार्य अगाडि बढाइन्छ ।’





