काठमाडौं । नेकपा एमालेको सक्रिय राजनीतिमा फर्किने घोषणा गरेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूले पाउने सरकारी सेवासुविधा फिर्ता गर्ने तयारी गरेकी छन् ।
शीतल निवासबाट आफ्नै निवास फर्किएकी भण्डारीले पूर्वराष्ट्रपतिको हैसियतमा पाउँदै आएको अधिकांश सुविधा स्वेच्छाले छाड्ने निर्णय गरिसकेको स्रोतले जनाएको छ । बाँकी सुविधा पनि आगामी १ साउनदेखि फिर्ता गर्ने गरी पत्र पठाउने तयारी भएको स्रोतको भनाइ छ ।
‘शीतल निवासबाट फर्कंदै उहाँले धेरै सेवासुविधा नलिने निर्णय गर्नुभएको थियो,’ भण्डारी निकट स्रोतले भन्यो, ‘अब बाँकी रहेका सुविधा पनि फिर्ता गर्ने तयारी छ ।’
हाल सरकारबाट पूर्वराष्ट्रपतिलाई दुईजना स्वकीय सचिवको तलब, सुरक्षाकर्मी बस्ने घरको भाडा र इन्धन खर्च सुविधा दिइँदै आएको छ ।
यद्यपि, भण्डारीले शीतल निवास छाडेपछि तलब, निवास खर्च लगायतका सुविधा प्रयोग नगरेको स्रोतको दाबी छ ।
पूर्वराष्ट्रपति भण्डारीले गत १४ असारमा मदन जयन्तीको अवसरमा आयोजित कार्यक्रममा नेकपा एमालेको सदस्यता नवीकरण गरेको जानकारी दिँदै सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी छन् ।





